काठमाडौँ– छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याललाई बिहीबार आयोजित कार्यक्रमका गरेर बिदाइ पौड्यालको गरिएको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गरे। उनले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेलेको भूमिकाको प्रशंसा गरे।
प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं २०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे।
आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे। उनले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे।
आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीनदशक निजामती सेवामा व्यतीत गरी विशिष्ट श्रेणी (सचिव) बाट अवकाश प्राप्त गरेका थिए।