काठमाडौं– जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी गरिएको छ।
कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन्।
अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था गम्भीर छ। श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै थएको छ। एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ। नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्। क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन्।
बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ।
चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ। दुवै हात, दुवै गोडा र अनुहार जलेको छ। हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ।