काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वस्थ्य अवस्था बुझ्न किर्तिपुर अस्पताल पुगेका छन् ।
सभापति देउवाले अस्पताल पुगेर भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
त्यस्तै सभामुख देवराज घिमिरेले पनि सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
यसअघि सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू एनपी साउद, प्रदीप पौडेल, एमाले नेता प्रदीप ज्ञवाली लगायतले अस्पताल पुगेर जानकारी लिएका थिए ।
स्वास्थ्य अवस्था जटिल बलेपछि सांसद भण्डारी र उनकी आमालाई मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लैजाने तयारी गरिएको छ । उलाई श्री एयरलाइन्सको जहाज चार्टर गरी मुम्बई लैजाने तयारी भइरहेको छ ।
गए राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।
उनीहरूको अहिले कीर्तिपुर अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
अस्पतालले विहिबार बिहान एक विज्ञप्ति जारी गर्दै सांसद भण्डारी र उनकी आमाको उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर उपचार गर्न सिफारिस गरेको थियो ।
सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी २५ देखि ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको अस्पतालले जनाएको छ ।
साथै अस्पतालले दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको उल्लेख गरेको छ । सांसद भण्डारीले आफू र आमाको उपचार स्वदेशकै अस्पतालमा गर्नुपर्ने अडान राखे पनि आफन्त र कांग्रेसका नेताहरुको आग्रहमा भारत जान तयार भएको बुझिएको छ ।