काठमाडौँ– पूर्व चलचित्र निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले राजनीतिलाई चलचित्रसँग तुलना गर्दै आफ्नो मुख्य पात्रलाई डाँडा कटाउन खोजिएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहले डामाडोल चलचित्र बनाउन छोडेर डामाडोल भएको देशलाई माथि उकास्न आएको बेला अर्को चलचित्र देखिरहेको बताए। उनले आफूले बनाउने चतचित्रको पात्र स्पष्ट हुने, नायक र खलनायक चिन्न सकिने भएपनि राजनीतिकको नायम र खलनायक चिन्न नसकेको बताए।
उनले भने– ‘म चलचित्र निर्देशक भएर चलचित्र डामाडोल बनाउन लागेको थिँए, तर देश बनाउने हुटहुटीले मैले चलचित्र क्षेत्र छोडेर मेरा सभापति रवि लामिछानेलाई होस्टेमा हैँसे गर्दै म यो सदनसम्म आइपुगेँ। जब यहाँ आइपुगेँ यहाँ त अर्को रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको छ। मैले बनाउने चलचित्रमा पात्रहरु स्पष्ट हुन्छन् । नायक को हो खलनायक को हो? एकदम स्पष्ट हुन्छ तर यहाँ नायक र खलनायक नै चिन्न गाह्रो भयो। अस्तिसम्म नायक देखिएका पात्रहरु खलनायक जस्ता देखिन थाले खलनायक जस्ता देखिएका पात्रहरु नायकजस्ता देखिन थाले। यसरी हाम्रो एकजना पात्रलाई यसरी डाँडा कटाइएको छ मानौं अब उ कहिल्यै पनि फर्केर आउँदैन। तर अहिले त मध्यान्तर समेत भइसकेको छैन सभामुख महोदय हाम्रो पात्र आउँछ।’ उनले राजनीतिमा भइरहेको चलचित्रको पटकथा कसले लेख्दैछ, यसको निर्देशक को हुन्? राष्ट्रिय हुन कि अन्तर्राट्रिय हुन भन्दै आज जन जनले प्रश्न गरिरहेको उनले बताए।
उनले चलचित्र कि सुखात्मक कि दुःखात्मक दुई ढंगले अन्त्य हुने भन्दै राजनीतिक चलचित्र सुखान्त ढंगले अत्य भइ अर्को पटक जनताकहाँ जाँदा माला लगाएर जान सक्ने अवस्था होस् भन्ने कामना गरे। उनले सांसदहरुका लागि पनि बायोमेट्रिक हाजिरीको व्यवस्था गर्न माग गर्दै जनताप्रति उत्तरदायी हुने व्यवस्था गर्न आग्रह गरे।