राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउँछौं : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-06
  • 10:54:13
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउँछौं : प्रधानमन्त्री

    राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउँछौं : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन्।

    बुधवार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले आयोगलाई बलियो बनाउने बताए।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ। आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सवल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्त्व र भूमिका छ।’

    ‘राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पूरै गम्भीर छु। आयोगका ७ वटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानूनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्छ।’

    बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।