आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको छ : राष्ट्रपति भण्डारी - Chaitanya News
  • 2026-05-15
  • 15:05:14
  • शुक्रबार,जेठ ०१, २०८३
  • आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको छ : राष्ट्रपति भण्डारी

    आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको छ : राष्ट्रपति भण्डारी

    दाङ — राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छन्। बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढिरहेको बताइन्।

    आयुर्वेद र प्राकृतिक चिकित्सा मौलिक उपचार पद्धति रहेको भन्दै उनले नेपालमा आदिवासी जनजातीहरूमा आयुर्वेद र प्राकृतिक चिकित्साका विज्ञहरूले परम्परादेखि काम गर्दै आएको बताएकी थिइन्।

    मानव सभ्यतादेखि सिर्जना हुँदै आएको ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस शिक्षण भवनले महत्वपूर्ण योगदान गर्ने पनि उनको भनाइ थियो। साथै उक्त भवनबाट सयौं आयुर्वेद स्नातकहरू उत्पादन भई स्वास्थ्य सेवामा योगदान गर्ने विश्वास उनले व्यक्त गरिन्।

    यस्तै संस्कृत शिक्षा अध्ययनले मानिसलाई सभ्य र शालीन बनाउने उनको तर्क थियो। उनले संस्कृत शिक्षासँगै स्वर्गीय मदन भण्डारीको स्मरण गरिन्। मदन भण्डारी संस्कृत अध्ययन गरेकै कारण शालीन र सिर्जनशील भएको आफूले पाएको उनले बताइन्। संस्कृत विश्वविद्यालयले परम्परागत भाषा, धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन्।

    यस्तै सांस्कृतिक जागरण र पुनरउत्थानका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनले बताइन्। विश्वविद्यालयलाई आफ्नो अचल सम्पत्तिको उचित उपयोग र परिचालन गर्न पनि उनले सुझाव दिइन्।

    कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले संस्कृत शिक्षाको विकास र संरक्षणका लागि सरकारले उचित ध्यान दिने बताइन्।

    लुम्बिनी प्रदेश सरकारका स्वाय्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले अहिले उद्घाटन भएको भवनले कोरोना महामारीमा कोरोना अस्पताल सञ्चालन गरेर ठूलो योगदान गरेको बताए।

    यस्तै विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेले संस्कृत शिक्षालाई समयानुकूल परिमार्जन गर्दै जीवनउपयोगी बनाइने बताएका थिए। विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडा र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुधनकुमार पौडेललले पनि कार्यक्रममा आफ्ना विचार व्यक्त गरेका थिए।

    दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक ९बिएएमएस० कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपयाँ १०पैसाको लागतमा भवन निर्माण भएको छ। नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट २०७४ असार मसान्तमा भवन निर्माण भएको नेपाल संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले जानकारी दिए।