काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्।
मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्।
ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि राजनीतिमा आउने उतारचढावले परिस्थिति फेरिन सक्ने बताएका हुन्।
अखिलको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘राजनीति सोझो रेखाबाट जाँदैन। उतार चढाव फेरि पनि आउन सक्छ। पाँच दलीय गठबन्धन टुटेकोमा कार्यकर्ताहरु काफी प्रसन्न भएको देखेको छु। गठबन्धन फुटाउनु सफलता हो। तर कथमकदाचित यो स्थिति फेरियो भने।’
चुनावअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँच दलीय गठबन्धन थियो।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने तर्क अघि सार्दै पूर्वसहमतिअनुसार एमालेको उम्मेद्वारलाई सहयोग नगर्ने बताउन थालेको छ।
सरकार गठनका बेला पुस १० गते भएको भनिएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने एमालेको अडान छ। तर त्यसमा माओवादी तयार देखिन्न।
अहिलेकै गठबन्धनलाई टिकाएर जान ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा रहे पनि सहमति बन्ने अवस्था देखिएको छैन। त्यसैतर्फ संकेत गर्दै ओलीले एमाले फेरि प्रतिपक्षमा धकेलिन सक्ने संकेत कार्यकता माझ गरेका हुन्।
उनले संसदको बनोटकै कारण राजनीतिक अस्थिरिता निम्तने जिकिर गरे।
‘संसदको बनोट नै अस्थिरिता निम्त्याउने खालको छ। हामीसँग बहुमत छैन। हामी बहुमत भन्दा निक्कै तल छौँ,’ ओलीले अगाडि भने, ‘भित्रका बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन्।’
उनले नेपाललाई बैंक र आफ्नो पार्टीलाई पालेसँग तुलना गर्दै एमालेमाथि आक्रमण गरे मात्रै देश बिगार्न सकिने दाबी गरे। ओलीले भने, ‘कुनै डाँकाले बैंकमा डकैती गर्न पहिला पालेलाई आक्रमण गर्छ। देशमाथि प्रहार गर्न पहिला एमालेमाथि प्रहार हुन सक्छ, भइआएको छ। फेरि पनि हुन सकिँदैन भन्न सकिँदैन। अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन्।’
ओलीले एमालेले लिएको संवृद्ध नेपाल सुखी नेपालीको एजेण्डा कहिल्यै कमजोर हुन नसक्ने दाबी गरे। ‘गलत शक्तिले एक छिन पराजित गरे पनि सधैंका लागि त्यसो गर्न सक्दैनन्,’ ओलीले भने।