विश्वकप लिग–२ नामिबियाविरुद्ध नेपालको जित - Chaitanya News
  • 2026-06-05
  • 09:49:05
  • शुक्रबार,जेठ २२, २०८३
  • विश्वकप लिग–२ नामिबियाविरुद्ध नेपालको जित

    विश्वकप लिग–२ नामिबियाविरुद्ध नेपालको जित

    काठमाडौं– आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भएको छ। मंगलबार भएको खेलमा नामिबियाले दिएको २ सय ८६ रनको कीर्तिमानी लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

    एकदिवसीयमा नेपालको यो ऐतिहासिक जित हो। यसअघि नेपालले २ सय ८६ रनको लक्ष्य पूरा गर्न सकेको थिएन। साथै, एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालको यो पहिलो जित पनि हो। नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारी खेले।

    ११३ बलको सामना गरेका उनले १० चौका र चार छक्कासहित ११५ रन बनाए। एकदिवसीयमा कुशलको यो पहिलो शतक हो। यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ८४ रन थियो।

    त्यस्तै, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले अविजित २० रन जोडे। नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र जेन निकोल लोफ्टीइटनले सर्वाधिक तीन–तीन विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो।

    उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले। १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए।

    एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो। कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए।

    यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३–१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे। बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए।

    उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन्। त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए। ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो।

    गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीप ६ महिना मैदान बाहिर थिए। गत पुसमा पाटन अदालतले धरौटीमा छोड्न आदेश दिएपछि भने उनी पुनः मैदान फर्किएका हुन्।

    त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले एकरएक विकेट हात पारे ।सिरिजमा नेपालले दोस्रो खेल शुक्रबार स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ।