ज्ञान, व्यवहार र योग्यता निजामती कर्मचारीका मुटु - Chaitanya News
  • 2026-07-22
  • 19:04:43
  • बुधबार,साउन ०६, २०८३
  • ज्ञान, व्यवहार र योग्यता निजामती कर्मचारीका मुटु

    ज्ञान, व्यवहार र योग्यता निजामती कर्मचारीका मुटु

    शाखा अधिकृतका रूपमा प्राप्त उपलब्धिलाई कम आकलन नगर्नुहोला। म अफिसर हुँदा निकै ठूलो उपलब्धि हासिल गरेछु भन्ने लागेको थियो। अब मेरो आफ्नै दस्तखत चल्छ लागेको थियो। समयक्रमसँगै यात्रा सरल रेखामा जाँदैन। कहिले ठक्कर खाइन्छ। कहिले घुम्ती पार गर्नुपर्छ। मसँग त्यस्तै अनुभव छ। हामी जनताको सेवाको महत्त्व बुझेर सार्वजनिक सेवामा प्रवेश गरेका छौं, यसको मर्म मर्न दिनु हुँदैन। तलब खाएर राष्ट्रसेवा गर्नू ख्यालठट्टाको विषय होइन। यो समाजमा कानुन कार्यान्वयन गरेर अगाडि बढाउने काम कर्मचारीको हो। राजनीतिज्ञको क्षेत्र राज गर्ने हो । माला लगाउने, स्टेज पाउने हो। राजनीतिज्ञलाई त्यसरी सफल देखाउन पनि कर्मचारीको भूमिका हुन्छ। त्यसैले निजामती क्षेत्रमा राजनीति पस्नु हुँदैन।

    राजनीतिक नेतृत्वमा जतिसुकै राम्रो नेता भए पनि अलिकति भए पनि बाइसनेस हुन्छ। जसको कारणले एउटा स्वतन्त्र सेवा गर्ने संस्था चाहिन्छ भन्ने भावका साथ यसको स्थापना भएको हो। निजामती सेवा निष्पक्ष र प्रभावकारी रह्यो भने लोकतन्त्र सुदृढीकरण हुन्छ। देशले प्रगति गर्छ। जनता सन्तुष्ट हुन्छ। यो संस्था आदर्श संस्थाको रूपमा स्थापित हुन्छ। यसले डेलिभरी डेमोक्रेसीको काम पनि गर्छ। नेतृत्वले नीति बनाउने हो। त्यसको कार्यान्वयन गर्दै जनतासम्म सेवा पुर्‍याउने काम कर्मचारीको हो। सरकारका तीन अंक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई त्यसैले भनेको हो। यी तीनै संस्था चलाउने व्यूरोक्रेसीले हो। त्यसैले यी तीनै अंगलाई प्रभावकारी रूपमा लगाउन तपाईंहरू निष्पक्ष र सक्षम हुनुपर्छ।

    यो संस्था जनता र राजनीतिक नेतृत्वको प्रिय छैन। बुद्धिजीवी वर्गले योसँग नलेज छैन भन्ने आरोप पनि लगाउँछन्। व्यापारीले यो व्यवसायको अवरोधक हो भन्छन्। नभई नहुने यो संस्थाको सबैले यो संस्थाको आलोचना किन गरेको? यसको सरल उत्तर केही कमजोरी हाम्रा पनि छन्। र, यो नजिकको संस्था हो। जो जनताको जीवनसँग सबैभन्दा बढी जोडिएको छ त्यसैको विरोध हुने हो। सरकारले प्रदान गर्ने सेवा कर्मचारीमार्फत प्रवाह हुने हो। अपेक्षित रूपमा ती सेवा प्रवाह हुन नसक्दा आलोचना भयो। त्यसका लागि कर्मचारीमात्र दोषी छन् कि नेताहरूको पनि दोष छ? स्वभावतः नेताहरूको पनि दोष छ।

    मुलुक अहिले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। अहिले पुरानै पाराको सेवा दिन्छु भनेर हुँदैन। समयानुकूल चल्न सक्नुपर्छ। अर्को नैतिकताको प्रश्न छ। एक जना सांसदले प्रश्न सोध्नुभयो, लोकसेवा ठिक छ। तर, तपाईंले घुसिह्या कर्मचारी किन पठाउनुभयो भन्नुभयो। हामीले के भनेर जवाफ दिने। घुँडा धसेर लोकसेवा पास गर्नेहरू त्यसरी नै घुँडा धसेर किन काम गर्दैनन्। यो संस्थाले अंगिकार गरेका संस्कार आत्मसाथ गर्न नसक्दा यसप्रतिको आलोचना बढ्दो छ। आफूभन्दा ठूलो केही छैन भन्ने भाव हुँदा पनि यस्तो समस्या आएको हो। ज्ञान, व्यवहार र योग्यता तिनै कुरा निजामती कर्मचारीका लागि महत्त्वपूर्ण छन्।

    अहिले डिजिटल युगको समय छ। यहाँ त जिन्दगीभर तालिम नै नलिएर एक कर्मचारी रिटायर हुन्छ। त्यसैले हाम्रा नराम्रा संस्कार त्यागौं। हामी नलेज साट्दैनौं। एक अफिसले अर्को अफिससँग ज्ञान बाँड्दैन। अर्को चाकडी गरेर कसैको नजिक भएको व्यवहार देखाएर राम्रो ठाउँमा जान खोज्छ। अहिले त सेवा प्रवाह मै राजनीति हुनथाल्यो। लोकतन्त्रका भ्यालु वितरण गर्ने संख्या आफै लोकतान्त्रिक भएन। जनता हामीभन्दा माथि हो भन्ने सोच्न सकेन। लोकतान्त्रिक गणतन्त्रमा जनताभन्दा माथि कोही हुँदैन। त्यसैले कर्मचारीले जनतालाई त्यो कुरा महसुस हुनेगरी काम गर्नुपर्छ। त्यसपछि मात्र यो संस्था र कर्मचारीप्रति जनताको विश्वास बढ्ने छ। हामी जहाँ भए पनि यो संस्थाको राम्रो भएको हेर्न चाहन्छौं। त्यसैले जे देखिएको छ त्यही बोलिदिन्छौं। हामीलाई राम्रो होस् भन्ने बाहेक कुनै लोभ र चाहना छैन।

    यो संस्था अहिले जीवन संघर्षमा रहेको डाइनासोरजस्तो छ। यसलाई कुनै पनि समयमा राजनीतिज्ञहरूले अव्यवसायकीकरण गरिदिएर वा काउन्टर व्यूरोक्रेसीका नीति अवलम्बन गरेर यसलाई कोल्याप्स गर्न सक्छन्। प्रशासनका दुई स्कुलअफ थर्ट छन्। एउटा भनेको एजुकेटिभ लिडर स्कुलअफ थर्ट । जुन जर्मन, अमेरिका र फ्रान्स जस्ता देशमा लागू छ। अर्को हुन्छ म्यारिट। त्यसमा हामी छौं। जब राजनीतिज्ञले यो संस्थालाई राइभर्ट सोच्दा कानुन संशोधन गरेर त्यो थर्ट भित्र्याउन थाल्छ। त्यसैले यो संस्था लोकप्रिय भयो भने यसको रक्षा जनताले गर्छन्। त्यसका लागि शाखा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका तपाईंहरूले इमानदार भएर काम गर्नुपर्छ।

    (शुक्रबार चैतन्यले अल्फा हाउसमा लोकसेवाबाट हालसालै शाखा अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारहरूका लागि आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवम् लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले  राखेको धारणाको सम्पादित अंश)