काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्नेमा आफू आशावादी रहेको बताएका छन्।
समाजवादी प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले माओवादीले सकारात्मकरूपमा सोचे प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत पाउने बताएका हुन्।
‘म धेरै आशावादी छु विश्वासको मत प्राप्त गर्नेमा, यसमा माओवादीले सोच्ने कुरा होला,’ खनालले भने, ‘माओवादले सकारात्मकरूपमा सोच्यो भने त विश्वासको मत प्राप्त भैगो नि।’ अर्को प्रसंगमा उनले नागरिक उन्मुक्ति र माओवादीमध्ये एकले दिए सरकारले बहुमत प्राप्त गर्ने बताए।
नेता खनालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसका लागि पहल गरिरहेको भन्दै उनले त्यसमा सबैले सकारात्मक हुनुपर्ने बताए।
सबै दल सहमत भएको खण्डमा राष्ट्रपतिका लागि नेकपा एस पनि तयार रहेको उनले बताए। पूर्वप्रधानमन्त्री समेत रहेका खनाल पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सहभागी हुन आज बिहान धनगढी पुगेका हुन्।