काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनयुद्ध दिवसमा सरकारले दिएको बिदा उपयुक्त नभएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दिएको बिदाबारे चौतर्फि आलोचना भइरहेको बेलामा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन्।
उनले फेशबुकमा लेखेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो। राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ।’
सरकारको हतारमा गरेको निर्णयले राष्ट्रिय दिवसको महत्वलाई हलुका बनाउने उनको भनाइ छ। यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि सरकारको विरोध जनाइसकेका छन्।