सरकारले पठायो टर्कीका भूकम्पपीडितलाई २२ टन अत्यावश्यक राहत सामग्री - Chaitanya News
  • 2026-05-15
  • 13:06:48
  • शुक्रबार,जेठ ०१, २०८३
  • सरकारले पठायो टर्कीका भूकम्पपीडितलाई २२ टन अत्यावश्यक राहत सामग्री

    सरकारले पठायो टर्कीका भूकम्पपीडितलाई २२ टन अत्यावश्यक राहत सामग्री

    काठमाडौं– सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्की र सिरियामा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को निर्णयअनुसार भूकम्पबाट प्रभावित टर्कीको उद्धार, राहत र पुनःस्थापनाका लागि पहिलो खेपमा २२ टनभन्दा बढी अत्यावश्यक राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट पठाइएको राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । टर्कीमा अहिले धेरै जाडो र हिमपात रहेकाले भूकम्प प्रभावितलाई न्यानो कपडा पठाइएको हो।

    गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ। टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन्।