काठमाडौं- शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले स्थापनाको एक दशक पुरा गरेको छ। अध्ययन, अनुसन्धान, तालिम, सेमिनार, गोष्ठी, सिए, लोकसेवा, शिक्षक सेवा, बैंकिङ, विभिन्न संस्थान तथा सेना-प्रहरी जस्ता विभिन्न सरकारी सेवाको तयारी गर्न चाहनेहरूलाई चैतन्यले एक दशकदेखि प्रशिक्षण दिँदै आएको छ।
‘आजबाट चैतन्य स्थापनको ११औं वर्षमा प्रवेश गरेको छ। यस स्वर्णिम यात्राको क्रममा हामीले १० वटा राष्ट्रियस्तरका सेमिनार, ५ सय ५० भन्दा बढी पेसागत एवं नेतृत्व विकास तालिम, गोष्ठी, कार्यशाला, ७ सय ५० भन्दा बढी भावी सिएहरूलाई अध्यापन, लाखौंको संख्यामा सह र उप-सचिवलगायत विभिन्नतहमा लोक सेवा लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षाको सञ्चालन गरिसकेका छौं,’ चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टका सिइओ गणेशप्रसाद जोशीले भने।
यो एक दशको यात्रामा दर्जनभन्दा बढी नीति निर्माण, अध्ययन एवम् अनुसन्धानका कार्यक्रमको आयोजना गरेको उनले बताए। ‘देशका विभिन्न भूभागमा अध्ययनरत लाखौं युवाहरूलाई उत्प्रेरणादायी कार्यक्रम, लोकप्रिय लेखकका पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका छौं,’ उनले भने।
नियमित कार्य बाहेक आध्यात्मिक, सामाजिक एवम् मानव जीवन निर्माणका विविध आयाममा सकारात्मक भूमिका निर्वाह गर्ने अवसर पनि प्राप्त भएको जोशीको भनाइ छ। सबै पृष्ठभूमि निर्माणका लागि सहयोग पुर्याउने सबैप्रति जोशीले कृतज्ञता ज्ञापन गरे।
‘म बाल्यकालदेखि सकारात्मक सोच भएको मानिस हुँ। कल्पनाशीलतालाई शक्तिको रूपमा रुपान्तरण गर्नुपर्छ भन्ने मलाई सानैदेखि लाग्थ्यो,’ उनले भने, ‘म जहाँ जन्मे त्यहाँको वातावरणले म यस्तो शैक्षिक एकेडेमी स्थापना गर्छु भन्ने लागेको थिएन। तर, मेरो आकर्षणको विषय थियो। त्यही सोचले चैतन्यको स्थापना भएको हो।’ उनले आमाको दया र करुणा तथा बुवाको संघर्ष पनि आफ्नो जीवन सफलताको अर्को पाटो भएको बताए।
शान्तिनगरमा बस्दा नयाँबानेश्वरतर्फ आउँदैगर्दा १० वर्षअघि मनमा नेपालीपन र संस्कृतको ओज बोकेको एउटा शैक्षिक इन्स्टिच्युट स्थापना गर्ने भाव पलाएको उनले बताए। ‘एकदमै छोटो र सुन्दर भाव बोक्ने नाम सोचिरहेको थिए। त्यसै सन्दर्भमा चैतन्य नाम मनमा आयो। त्यसपछि यसको भाव के हो भनेर नेपाली र संस्कृतका विज्ञहरूलाई सोधे। त्यसको एक हप्तापछि चैतन्य स्थापना गरेका हौं,’ उनले भने।
त्यसरी स्थापना भएको चैतन्यले आज यो उचाइ पाएको देख्दा आफू खुसी रहेको उनले बताए। उनले चैतन्य एक मिसन भएको बताए। ‘हामीले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने, ट्रेनिङका काम गर्ने, रिसर्चको काम गर्ने, समृद्ध नेपाल निर्माणका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका काम गर्ने, समृद्धिको क्षेत्रमा विभिन्न चिन्तनका काम गर्ने यसको कार्यक्षेत्र हुन्,’ जोशी भन्छन्।
एकेडेमीले सुशासन र समृद्धिका क्षेत्रमा पनि विभिन्न सेमिनारको आयोजना गरिरहेको जोशीले बताए। प्रत्येक नागरिक जागरूक भएर सुशासनको यात्रामा अग्रसर भए मुलुकमा समृद्धि हासिल गर्न गाह्रो नहुने उनको बुझाइ छ। नाफा काउनुमात्रै नभएर समाजका विभिन्न क्षेत्रमा सामाजिक कार्य गरेर एक असल नागरिक हुनुको अभिभारा पुरा गर्नु पनि चैतन्य परिवारको उद्देश्य रहेको उनले बताए।
कोरोना कालमा पनि आफूहरूले विभिन्न सरकारी सेवा गरिरहेका विद्यार्थीहरूमा मनोवैज्ञानिक विचलन नआओस् भनेर नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरिएको बताए।
‘सफलता तपाईंको, सहकार्य चैतन्यको, हरेक शनिबार, सिकाइको बार’ भन्दै चैतन्यले नि:शुल्क शनिबारीय शृङ्खला सुरु गरेको १३० साता पुगिसकेको छ। सृजनशीलता र ऊर्जा भएका युवाहरू कोरोनाकालमा तनावमा नरहुन् भनेर उक्त अभियान सुरु गरिएको उनको भनाइ छ।
अहिलेसम्म पाँच लाख भन्दा बढी युवाले शनिबारीय नि:शुल्क शृङ्खला सुरु गरिएको उनले बताए। चैतन्य ११ वर्षमा प्रवेश गरेको अवसरमा आफूहरूले दुई महिनाभर ३२ वटा खरिदारदेखि सहसचिवसम्मका नि:शुल्क परीक्षा सञ्चालन गरिने जोशीले बताए। यस्ता अन्य थुप्रै सहुलियतका कार्यक्रम ल्याइने जोशीको भनाइ छ।
यसका साथै चैतन्यको शाखा धनगढीमा विस्तार गरिएको र अन्य प्रदेशमा पनि विस्तारको तयारी रहेको जनाए। संस्थाले चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चैतन्य खबर, ऐश्वर्य प्रकाशन प्रालि र चैतन्य पाठशाला जस्ता थुप्रै इन्स्टिच्युटहरूको विस्तार गरेको जोशीले जानकारी दिए। उनले आगामी दिनमा पनि चैतन्यले विभिन्न गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै जाने प्रतिबद्धता जनाए।