काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रिय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए।
उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु। हामीलाई असफल हुने बिल्कुलै छुट छैन। हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ। मैले ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो मन्त्रिपरिषदबाट यो दिवसकाे निर्णय गरेको हुँ। अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो। ।’
उनले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताए।
नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने पनि बताए।