कोरोना नियन्त्रणका लागि हालसम्म ३७ अर्ब खर्च, कुन वर्ष कति - Chaitanya News
  • 2026-05-02
  • 13:29:52
  • शनिबार,बैशाख १९, २०८३
  • कोरोना नियन्त्रणका लागि हालसम्म ३७ अर्ब खर्च, कुन वर्ष कति

    कोरोना नियन्त्रणका लागि हालसम्म ३७ अर्ब खर्च, कुन वर्ष कति

    काठमाडौँ– चालू आर्थिक वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा जम्मा ७ लाख रुपैयाँ खर्च भएको छ। अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणका लागि १५ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको थियो। तर, कोरोना महामारी कमजोर बन्दै जाँदा विनियोजित बजेटको १ प्रतिशत पनि खर्च नभएको हो।

    यस्तै, आर्थिक वर्ष २०७६–७७ मा कोरोना महामारी नियन्त्रणका लाग २ अर्ब १७ करोड ९५ लाख रुपैयाँ खर्च भएको थियो। जबकि, उक्त वर्ष कोरोना महामारी नियन्त्रणका लागि ३ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ विनियोजन भएको थियो। यसका साथै, आर्थिक वर्ष २०७७–७८ मा कोरोना महामारी नियन्त्रणका लागि १२ अर्ब ५६ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो। उक्त वर्ष महामारी नियन्त्रणका लागि सरकारले १६ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो।

    यस्तै, आर्थिक वर्ष २०७८ मा महामारी नियन्त्रणका लागि २२ अर्ब २१ करोड ३४ लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ। उक्त वर्ष सरकारले कोरोना नियन्त्रणका लागि भन्दै ३८ अर्ब ९६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

    महामारी नियन्त्रणका लागि हालसम्म सरकारले ३७ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। हालसम्म यो शीर्षकमा कूल ७४ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ विनियोन गरेको छ। तर, विनियोजित रकमको ५० प्रतिशत आसपास मात्रै खर्च भएको तथ्यांकले देखाउँछ।