काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग मैत्रीपूर्ण खेलमा लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली टोलीले करिब एक महिना तयारी गरेको थियो। नेपाली टोलीको प्रशिक्षकको रूपमा अनन्तराज थापाले जिम्मेवारी लिएका छन्। उनले पहिलो पटक राष्ट्रिय टोली सम्हालिरहेका हुन्। राष्ट्रिय लिग पनि राम्रोसँग नभएको अवस्थामा नेपाली टोलीलाई भारतविरुद्धको खेल चुनौतीको रूपमा रहनेछ।
त्यसका लागि तयारी भएको नेपाली टोलीका मुख्य प्रशिक्षक थापाले बताए। भारतविरुद्धको खेल नेपालका लागि सधैँ विशेष हुने भएकाले यो खेल पनि विशेष हुने बताए। ‘नेपालका लागि भारतविरुद्धको खेल सधैँ विशेष हुन्छ। यो खेल पनि हाम्रो लागि विशेष छ। अन्तिम पटकको भेटमा हाम्रोतर्फ नतिजा मोडिएको थियो। अहिले मैत्रीपूर्ण खेलमा पनि नतिजा हाम्रो पक्षमा पार्नका लागि पर्नेछौँ। त्यसको लागि हामी तयार छौँ,’ थापाले भने।
थापाले आफूले पहिलो पटक टिम सम्हालेको हुँदा यसलाई अवसर र चुनौती दुवैको रूपमा हेरेको बताए। उनले टिमको कम्बिनेसन र खेल्ने तरिकामा पनि अहिले धेरै परिवर्तन भएकाले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताए।
‘मैले पहिलो पटक राष्ट्रिय महिला टोली सम्हाल्न पाएको छु। यो मेरो लागि अवसर र चुनौती दुवै हो। नेपाली टोलीको कम्बिनेसन र खेल्ने तरिकामा पनि निखारता आएको हुँदा उत्कृष्ट प्रदर्शनको अपेक्षा मैले गरेको छु,’ थापाले भने।
थापाले यो मैत्रीपूर्ण खेलले आफ्नो फुटबल प्रशिक्षकको जीवनमा पनि ठुलो महत्त्व राख्ने बताए। यता खेलाडीहरूको लागि पनि यो खेल आफ्नो अघिल्लो प्रतियोगिताका लागि बलियो जग बसाउनका लागि उपयुक्त भएको बताए।
‘यो मैत्रीपूर्ण खेलले मेरो व्यक्तिगत जीवनमा पनि विशेष भूमिका खेल्छ। यता खेलाडीहरूका लागि पनि अघिल्लो प्रतियोगिताका लागि जग बसाउने कुरामा विशेष भूमिका खेल्छ,’ थापाले भने।
मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ।
नेपाली टोलीकी खेलाडी सरु लिम्बुले टिमको तयारीले मैत्रीपूर्ण खेलमा राम्रो नतिजाको अपेक्षा गरेको बताइन्। उनले अहिले टिममा नयाँ खेलाडीहरूको प्रदर्शनबाट पनि राम्रो अपेक्षा गरिएको बताइन्। लामो समय राष्ट्रिय लिग नभएका कारण केही कमजोरी भए पनि त्यसलाई सुधार गर्नका लागि यो मैत्रीपूर्ण खेल आधार हुने बताइन्।
‘भारतविरुद्धको मैत्रीपूर्ण खेलमा हामीले सुखद नतिजाको अपेक्षा गरेका छौँ। सागमा हामीले भारतलाई हराएका थियौँ। अहिले उनीहरू हामीलाई हराउने मनसायका साथ आउनेछन्। हामी पनि बलियो टोलीलाई हराएर आगामी प्रतियोगिताका लागि बलियो रहेको प्रमाणित गर्न चाहन्छौँ,’ लिम्बुले भनिन्।
सरुले राष्ट्रिय लिग र लामो समय प्रतियोगिता नहुँदा खेलाडीको प्रदर्शनमा केही कमी आउने अवस्था भए पनि सबैले आफ्नो शतप्रतिशत दिएर खेल्ने बताइन्।
यता राष्ट्रिय टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले नेपाली टोलीले लामो समयपछि मैत्रीपूर्ण खेलबाट कम ब्याक गर्न लागेकाले यसलाई विशेष बनाउने बताइन्। साफमा भारतलाई हराउँदा पाएको बलियो आत्मबललाई निरन्तरता दिने आफ्नो प्रयास भएको बताइन्।
‘नेपाली टोलीले लामो समयपछि मैत्रीपूर्ण खेलबाट कम ब्याक गर्दै छ। यसलाई हामी उत्कृष्ट नतिजासँगै सफल बनाउने योजनामा छौँ। साफमा भारतलाई हराउँदा आएको आत्मबललाई अहिले निरन्तरता दिनेछौँ,’ एन्जिलाले भनिन्।