काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २३ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ।
महाधिवेशन तयारीबारे गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले ७ वर्षपछि हुन लागेको अधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास गरिने बताइन्।
‘सकेसम्म सर्वसम्मत बनाएर नेतृत्व चयनको प्रयास गरिन्छ। नभएको ठाउँमा निर्वाचन गर्न तयार छौं’, बरालले भनिन्, ‘१९९ सदस्यीय केन्द्रीय कमिटीको केन्द्रीय सदस्यमा यसपटक नयाँ अनुहार र भूगोलसहितको प्रतिनिधित्वलाई मुख्य आधार बनाएका छौं।’
बरालले चुनाव हुँदा विद्युतीय मतदानबाट गरिने जानकारी पनि दिइन्।अनेरास्वयिुको महाधिवेशन आगामी फागुन २ देखि ४ सम्म काठमाडौंमा हुँदैछ। अनेरास्ववियुले निस्शुल्क शिक्षा, स्वास्थ्य, पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ महाधिवेशन गर्दैछ।
महाधिवेशनमा १५७३ महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ।
अध्यक्ष बरालले ७ वर्षपछि हुन लागेको महाधिवेशनले संगठनको आन्तरिक जीवनमा नयाँ आयाम थप्ने जानकारी दिइन्।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदार छन्।
त्यस्तै उपाध्यक्ष झपिन्द्र खत्री, मोती विक र लोकेश निरौला पनि अध्यक्षका दाबेदार हुन् । महासचिवमा भाष्कर खनाल मुख्य दाबेदार छन्।
Post Views: 45