वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउने सीके राउतको आरोप - Chaitanya News
  • 2026-05-15
  • 11:57:24
  • शुक्रबार,जेठ ०१, २०८३
  • वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउने सीके राउतको आरोप

    वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउने सीके राउतको आरोप

    काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउतले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने दललाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्।

    शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए। उनले नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठुलो प्राथमिकता बनाउनु नहुने बताए। उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

    उनले भने, ‘सडक आफैँमा सबैभन्दा ठुलो थलो हो। त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ। त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन। हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठुलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ। सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्न सक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा नै होस्। रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढे मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ।’

    अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जान सक्ने भन्ने कुरा सोच्नु नहुने बताए।