काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा पूर्ण परिवर्तन ल्याउनु पर्न बताएकी छिन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले आजका युवा नयाँ कुरा गर्न र सिक्न चाहने हुनाले परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने उनले बताएकी छिन्।
तसर्थ बजारको माग अनुरुपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्ने तथा सीप परीक्षण गर्ने कार्यलाई एकीकृत ढंगबाट अघि बढाउनु पर्छ, राष्ट्रपति भण्डारीले भनेकी छिन्।
यस्तै उनले सार्वजनिक सेवा प्रणाली चुस्त, दुरुस्त र नागरिकले घर दैलोमै सरकार छ भन्ने महसुस गर्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने बताएकी छिन्।
यस्तै उनले एउटै प्रकारको कागजात भिन्न भिन्न सरकारी निकायमा प्रस्तुत गर्नुपर्ने बाध्यतालाई तत्काल हटाउन हाल सञ्चालनमा रहेका सरकारी प्रणालीहरुले एकअर्कासँग सजिलै सञ्चार गर्न सक्ने गरी अन्तरआबद्धता कायम गर्नुपर्ने बताएकी छिन्।