उर्लाबारी– मोरङको कानेपोखरी गाउँपालिकाका किसानलाई यतिबेला गुन्द्रुक भित्र्याउने चटारो छ। गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रुक मोरङलाई’ कार्यक्रम सञ्चालन गर्न ७ लाख ५० हजार रुपियाँ छुट्याएको थियो।
सोही कार्यक्रम अन्तर्गत पालिकाका १८ जना किसानले १२२ कट्ठा (६ बिघा २ कट्ठा) जमिनमा गुन्द्रुक उत्पादन गर्ने प्रयोजनका लागि तोरी लगाएका थिए। मङ्सिर पहिलो साता तोरी छरेका किसानले यतिबेला खाल्डोबाट गुन्द्रुक निकालेर घाममा बिस्कुन लगाएका छन्। गाउँपालिकाले किसानको उत्पादन प्रतिकिलो एक हजार रुपियाँमा खरिद गरिदिने भएको छ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामले भने ‘संसारमा नेपालीले मात्र खाने परम्परागत गुन्द्रुक समेत चीनबाट आउनेगरेको तथ्याङ्क पत्रपत्रिकामा पढेपछि हामीले गुन्द्रुक आयातलाई निरुत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौं। पहिलो पटक भएकाले केही नयाँ कुरा सिक्न पायौं।’ खाली खेतमा असोजमै तोरी लगाएको भएमा एकै सिजनमा तीन पटकसम्म उत्पादन लिन सकिने रहेछ, उनले आगामी वर्ष अझ ब्यवस्थित तरिकाले गुन्द्रुक उत्पादनमा लाग्ने बताए।
ब्यावसायिक रुपमा गुन्द्रुक उत्पादन गर्ने किसान पनि उत्साही रहेका छन्। कानेपोखरी –२ मैनाबारीकी भगवती बरालले भने, “दुई कट्ठामा तोरी छरेर गुन्द्रक हालेको थिएँ। असाध्यै राम्रो थियो तर, हुस्सुुका कारण सुकाउनलाई समस्या भयो। सुकाउने ब्यवस्था राम्रो हुने हो भने एकै सिजनमा दुई–तीन पटक गुन्द्रुक निकाल्न सकिने रहेछ। बरालले ८ देखि १० किलो गुन्द्रुक उत्पादन हुने बताए। सोही गाउँकी बिमला रायाले ४ कट्ठामा तोरी छरेका थिए। उनले भने, “१५ किलो जति तुल्याउन सक्छु भन्ने लागेको छ।”
गाउँपालिकाले जोत्ने खर्च, प्राङ्गारिक मल र बीउ उपलब्ध गराएको थियो। सामान्यतया तोरी फल्न ९० देखि ९५ दिन लाग्ने गर्छ। गुन्द्रुकका लागि ३० देखि ३५ दिनमा साग टिपेर सुकाउन सकिन्छ। गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने ‘यो वर्ष हाम्रा किसानले एक पटक मात्र साग टिपेर गुन्द्रुक हाल्न सके। २ कट्ठामा जति तोरी उत्पादन लिन सकिन्थ्यो, गुन्द्रुुकबाट त्यति नै मुल्य बरावरको उत्पादन लिन सकिएन।’
अर्को वर्षदेखि तीन पटक साग टिपेर गुन्द्रुक हाल्नेगरी ब्यवस्था मिलाइने छ । नयाँ प्रयोग भएकाले केही समस्या उत्पन्न भएको घिमिरेको भनाइ छ। पालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले ६ बिघा २ कट्ठामा २३० किलो गुन्द्रुक उत्पादन हुने अनुमान गरिएको बताए।
उत्पादित गुन्द्रुक पालिकाले किसानसँग प्रतिकिलो १ हजार रुपियाँका दरले खरिद गरिदिने भएको छ। पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले अब पालिकामा आउने अतिथिलाई कानेपोखरी गाउँपालिकाले अर्गानिक गुन्द्रुक उपहार दिएर पठाउने बताए।