झापा– झापामा एक छात्राले गरिन् आत्महत्या गरेकी छन। झापाको गौरीगञ्जमा कक्षा ११ मा पढ्ने एक छात्राले आत्महत्या गरेपछि बुधबार गौरीगञ्जको स्थिति असामान्य बनेको छ।
शिक्षकले ती छात्रालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको विद्यार्थी तथा अभिभावकहरूले बताएका छन्।
गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज ३ की सोनी राजवंशीले आत्महत्या गरेकी हुन्।
मंगलबार स्कूलबाट घर फर्केलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्दार गरी अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषित गरेको थियो। यही घटनालाई लिएर बुधबार बिहानैदेखि गौरीगञ्ज अशान्त बनेको हो।
प्रत्यक्षदर्शी विद्यार्थीहरूका अनुसार मंगलबार विद्यालयमा केटा साथीसँग बसेको निहुँमा विद्यालयका शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए।
विद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तहरूको भनाइ छ।
पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरूले आरोपित शिक्षकहरूलाई पक्राउको माग गर्दै बुधबार बिहान इलाका प्रहरी कार्यालय धर्ना दिएका थिए। आक्रोशित आफन्त र मृतकका साथीहरूले शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका छन्।
आरोपित शिक्षकलाई पक्राउ गरी अहिले इलाका प्रहरी कार्यालय, दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।