काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। एमालेको राष्ट्रपति उम्मेदवारलाई हराउन आफूहरूले सक्दो प्रयास गर्ने थापाले बताए। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने उनको भनाइ छ।
महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएको उनले बताए। त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने उनको भनाइ छ।
विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो।‘राष्ट्रपति संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौं? मन लाग्दा संविधान मिच्न पाउने,ु उनले भने, ुअहिले राष्ट्रपति नेकपा एमालेले बनायो भने कस्तो हुन्छ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ। त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ। विस्तार दुई शक्ति केन्द्र हुन्छ। एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ। अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ। त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ।