प्रदेश र स्थानीय तहका कर्मचारीलाई अधिकृतको प्रतिस्पर्धामा उमेरहद नलाग्ने - Chaitanya News
  • 2026-05-06
  • 05:29:09
  • मंगलबार,बैशाख २२, २०८३
  • प्रदेश र स्थानीय तहका कर्मचारीलाई अधिकृतको प्रतिस्पर्धामा उमेरहद नलाग्ने

    प्रदेश र स्थानीय तहका कर्मचारीलाई अधिकृतको प्रतिस्पर्धामा उमेरहद नलाग्ने

    काठमाडौं –  सर्वाेच्च अदालतले प्रदेश र स्थानीय तहका बहालवाला कर्मचारीलाई उमेरहद नलगाउन अन्तरिम आदेश जारी गरेपछि शाखा अधिकृतको परीक्षा स्थगित भएको छ । सर्वाेच्च अदालतले संघीय निजामती कर्मचारीसरह प्रदेश र स्थानीय तहका कर्मचारीको हकमा पनि उमेरहद नलगाउन अन्तरिम आदेश जारी गरेपछि लोकसेवाले २८ माघमा तय भएको प्रथम चरणको परीक्षा र २१ चैतमा तय भएको द्वितीय चरणको परीक्षा स्थगित गरेको हो ।

    लोकसेवाका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सर्वाेच्चको आदेश कार्यान्वयन गर्न परीक्षा स्थगित गरिएको बताए । यससँगै आयोगले योग्यता पुगेका प्रदेश र स्थानीय तहका कर्मचारीलाई शाखा अधिकृत पदमा दरखास्त दिन २१ दिने सूचना जारी गरेको छ । अरूले भने दरखास्त दिन पाउनेछैनन् ।

    लोकसेवाले शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदका लागि २८ मंसिरमा आह्वान गरेको खुला तथा समावेशी विज्ञापनमा प्रदेश र स्थानीय तहका बहावलाला कर्मचारीलाई उमेरहदको छुट दिएको थिएन । संघीय निजामती सेवामा कार्यरत कर्मचारीलाई खुलामा प्रतिस्पर्धा गर्न पनि कुनै उमेरहद लाग्दैन । तर, बाँकीको हकमा भने ३५ वर्षको उमेरहद लाग्छ ।

    नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका उपमहासचिव युवाचन्द्र घिमिरेसहित संघीय कर्मचारीसरह प्रदेश र स्थानीय तहका कर्मचारीलाई उमेरहद राख्न नहुने भन्दै सर्वाेच्च पुगेका थिए । दायर रिटमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले २० माघमा बहालवाला स्थानीय र प्रदेशका कर्मचारीको हकमा उमेरहद नलगाउन अन्तरिम आदेश जारी गरेको थियो । अब २७ फागुनका लागि तय भएको संघीय नायब सुब्बा वा सोसरहको पदको लिखित परीक्षा पनि स्थगित हने सम्भावना छ । नासुमा सोही प्रकृतिको मुद्दा सर्वाेच्चमा छ । सूचना अधिकारी सुवेदीले हाल शाखा अधिकृतको हकमा मात्र आदेश भएको बताए ।