टर्की भूकम्प:  ज्यान गुमाउनेको संख्या तीन हजार ७४४ पुग्याे - Chaitanya News
  • 2026-05-01
  • 14:56:29
  • शुक्रबार,बैशाख १८, २०८३
  • टर्की भूकम्प:  ज्यान गुमाउनेको संख्या तीन हजार ७४४ पुग्याे

    टर्की भूकम्प:  ज्यान गुमाउनेको संख्या तीन हजार ७४४ पुग्याे

    काठमाडौं – टर्कीमा हिजो (सोमबार) गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।

    टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    हिजो बिहानको भूकम्पपछि कयौं परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौं मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ ।

    यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।
    अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ ।

    यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।