काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्।
राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो। रक्त सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए। उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिर समेत गरे।
उपमहासचिव ज्ञवालीले कांग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भएको आरोप समेत लगाए। उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।