काठमाडाैँ – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ । कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो ।
अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ । उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ । प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ ।
अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ । हाल ५८ सदस्यीय राष्ट्रिय सभामा प्रस्तावक र समर्थक दलको स्पष्ट बहुमत छ । एमालेका तर्फबाट निर्वाचित खिमलाल भट्टराईको स्थानमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। माघ २५ गते उक्त स्थानमा निर्वाचन हुँदैछ ।
माओवादी केन्द्रका १५ र एमालेका १५ सदस्य छन् । यस्तै सभामा कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादीका तीन, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन् ।
तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्षको स्थान रिक्त थियो । २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त छ । राजनीतिक दलबीचमा समझदारी नबन्दा निर्वाचन प्रक्रिया अघि बढेको थिएन ।