काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट हार व्यहोरेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई निर्वाचित घोषणा गर्न सकिने समय गुज्रिसकेको निर्वाचन आयोगले बताएको छ।
उक्त क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेको सांसद पद बदर भएसँगै श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्ने माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
तर, आयोगले लामिछानेलाई निर्वाचित घोषणा गरिसकेपछिमात्रै सवोच्च अदालतको फैसला आएको हुँदा अब श्रेष्ठलाई निर्वाचित घोषणा गर्न सकिने अवस्था नभएको आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए।
‘अहिले उक्त निर्वाचन क्षेत्र सदस्य रिक्त रहेको अवस्थामा हो। यो अवस्थामा आयोगसँग भएको विकल्प उपनिर्वाचन नै हो। सर्वोच्च अदालतको पूर्णपाठ आइसकेपछि आयोगले राजपत्रमा प्रकाशन गर्छ,’ उनले भने, ‘संसद सचिवालयले उनको सांसद पद रिक्त भएकोबारे पत्र पठाउनै बाँकी छ। यत्ति प्रक्रिया पूरा भएपछि संघ, प्रदेश र स्थानीय तहका सबै रिक्त भएका स्थानको अध्ययन गरेर आयोगले सबै ठाउँमा निर्वाचन घोषणा गर्छ।’
जहाँसम्म श्रेष्ठले दिएको निवेदनको विषय छ, यसबारे निर्वाचन कानुनमा कुनै पनि व्यवस्था नभएको उनको भनाई छ।
रविले ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत पाएका थिए। श्रेष्ठलाई उनले ३४ हजार ३१२ मतको फराकिलो अंकले पराजित गरेका थिए । योपटक श्रेष्ठलाई माओवादीले समेत साथ दिएको थियो।
यसअघि लगातार तीन पटक निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए।