अघि बढ्यो सशस्त्र डीआईजी बढुवा प्रक्रिया - Chaitanya News
  • 2026-05-01
  • 12:08:11
  • शुक्रबार,बैशाख १८, २०८३
  • अघि बढ्यो सशस्त्र डीआईजी बढुवा प्रक्रिया

    अघि बढ्यो  सशस्त्र डीआईजी बढुवा प्रक्रिया

    काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

    गतबैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायब महानिरीक्षकको चार रिक्त पदका लागि बढुवा प्रक्रिया अघि बढाइएको हो ।

    यद्यपि, बढुवा समिति सचिवालयको सूचनामा भने ‘केही रिक्त पद’ भनिएको छ ।

    गृहअन्तर्गत बढुवा समिति सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा ‘बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई १९ माघको मितिले सात दिनभित्र आवश्यक कागजात बुझाउन’ भनिएको छ ।

    सशस्त्र प्रहरीमा गत वैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षकको चार ओटा पद रिक्त रहेकोमा ती पदमा बढुवा गर्न लागिएको हो । यद्यपि, बढुवा समितिको सचिवालयको सूचनामा भने केही रिक्त पद भनिएको छ ।

    अबको बढुवामा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका पहिलो ब्याचका कम्तीमा तीन जना पर्ने निश्चितप्रायः छ । नेपाल प्रहरी र नेपाली सेनालाई सम्मिलित गराएर गठन गरिएको सशस्त्र प्रहरी बलमा २६ कात्तिक २०५९ मा पहिलो पटक ९ जना सशस्त्र प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेका थिए ।

    सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयताका क्रममा पहिलो नम्बरमा कृष्णराज पाठक छन् । १ मंसिर २०५४ मा नेपाल प्रहरीको प्राविधिक नायव निरीक्षक (सई) का रुपमा प्रवेश गरेका पाठक डीआईजीमा बढुवा हुने सम्भावना कम छ । उनको कमजोर कार्यसम्पादनका कारण उनलाई बढुवा गर्न नहुने मत पनि सशस्त्र प्रहरीमा बलियो छ ।

    उनको बढुवा नभएको अवस्थामा भने सशस्त्र प्रहरीको पहिलो व्याचका ‘फ्रेस’ चार जना निरीक्षक (हाल वरिष्ठ उपरीक्षक) डीआईजी बन्ने छन् ।

    हाल सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयतामा पाठकपछि सिसं १ व्याचका दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोखरेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।

    प्रहरीबाट स्थानान्तरण भई आएका पाठक बढुवामा नपरेको अवस्थामा शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा र पोखरेल डीआईजी बन्ने निश्चितप्रायः रहेको स्रोतको दाबी छ । पाठक बढुवा भएको अवस्थामा भने शाह, श्रेष्ठ, थापा र पोखरेलमध्ये एक जना छुट्ने छन् ।