एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-14
  • 12:01:46
  • बिहिबार,बैशाख ३१, २०८३
  • एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री

    एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन।

    उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए। नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उनको भनाइ छ।

    ुजनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ। नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छु, उनले भने। स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ। विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए।

    एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए।

    दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। उनले भने, गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ। तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ।

    ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन्। नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो। भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन्।

    विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ।

    पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। शनिवार भोलि गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ। यस्तै पर्सि आइतवार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ।

    छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन्। यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्रो भारतको नयाँ दिल्लीमा भएको थियो।