काठमाडौं– मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सत्य, तथ्य र स्पष्ट सम्प्रेषण गर्नु पत्रकारिताको धर्म भएको बताएका छन्। न्यूज लाइन्स नेपालको सातौं वार्षिक उत्सवमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकारले पेशागत दायित्वलाई ख्याल गर्दै समाज सुधार र विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताए।
‘स्पष्ट सम्प्रेष गर्नु पत्रकारिताको धर्म र कर्म हो। प्रजातान्त्रिक समाजमा स्वतन्त्र र सक्षम पत्रकारिताको महत्व उच्चतम् रहेको कुरामा दुइमत छैन। समाज परिवर्तनमा सुधार, विकृति र विसंगतिमा सशक्त आवाज एवं आवाज विहीनको आवाज बन्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिकाको अपेक्षा गरिन्छ’, उनले भने।
पत्रकारिता राज्य र नागरिकबीचको सहकार्यको सेतु भएको उनको भनाइ छ। राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारिता स्वच्छ, मर्यादित, विश्वसनीय हुनुपर्ने उनको जोड छ। ‘राज्य र नागरिककाबीच सहकार्यको सेतुका रुपमा काम गर्ने हुनाले पनि पत्रकारितालाई राज्यको चौथौ अंगका रुपमा मानिएको छ। यसै भएर नै सञ्चारको हकलाई नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। सत्य, तथ्य पत्रकारित गर्नु पर्ने, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने लगायतका कर्तव्य र दायित्व पत्रकार आचार संहिताले तोकेको छ,’ उनले भने।
सम्पादकहरु समाजका बौद्धिक वर्ग भएको उल्लेख गर्दै उनले यस्तो वर्गको सम्पादनमा आउने समाचारमा अन्य नियमनकारी निकायले औंला ठड्याउन पर्ने परिस्थिति आउन नहुने बताए। ‘सम्पादकीय स्वतन्त्रतालेसमेत नागरिक दायित्वको भार बोकेका सम्पादकहरु छानिएको बौद्धिक वर्गमा पर्दछन्। यस्तो वर्गको सम्पादनमा आउने समाचार बारे अन्य नियमनकारी निकायले औंला ठड्याइ नियमन गर्नु भन्दापनि स्वनियमनले नै पत्रकारिताको स्वतन्त्रता र मर्यादाको रक्षा हुन्छ भन्ने मलाई लाग्दछ,’ रेग्मीले भने।