स्वदेशी तरकारीले उत्पादन अनुसारको मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध - Chaitanya News
  • 2026-05-01
  • 12:08:11
  • शुक्रबार,बैशाख १८, २०८३
  • स्वदेशी तरकारीले उत्पादन अनुसारको मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

    स्वदेशी तरकारीले उत्पादन अनुसारको मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

    चितवन– स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन्।

    उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे।

    ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो।’

    उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए। तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए।

    लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे। किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो। किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए।