दमक– झापाको दमक नगरपालिकामा पहिलो पटक राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा २७ जना भूमिहीनले धनीपुर्जा पाएका छन्। दमकको वडा नम्बर १० का २७ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए।
वितरण गरिएका जग्गा धनीपुर्जा पाउनेमा दुई दलित सुकुम्बासी, भूमिहीन १० र अव्यवस्थित बसोबासीका रुपमा १५ परिवार रहेको थापाले जानकारी दिए। ‘यो धनीपुर्जा वितरणको सुरुवात हो। हामीले आठ हजारभन्दा बढीलाई निस्सा वितरण गरिसकेका छौं’, नगरप्रमुख थापाले भने।
धनीपुर्जा वितरणका लागि झापाको दमक आउनुभएका आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगले तीव्र रुपमा काम गरिरहेको बताउँदै जग्गा धनीपुर्जा वितरणको काम अब देशभर निरन्तर रहने बताए। ‘भूमिहीन सबैले जग्गा पाउने अवस्था आउँछ’, उनले भने।
आयोगले कामलाई तीव्रता दिइरहेको र निस्सा पाएका जग्गाधनीले चाँडो धनीपुर्जा पाउने अवस्था सिर्जनाका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको पनि उहाँको भनाइ छ। झापा नगरपालिकामा नै आयोगको सम्पर्क कार्यालय बनाएर काम भइरहेको छ।
यसैगरी राष्ट्रिय भूमि आयोग झापाले अहिलेसम्म जिल्लाका १४६ भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा वितरण गरेको जानकारी गराएको छ। गौरादह नगरपालिकामा ५०, कन्काई नगरपालिकामा २७, बुद्धशान्ति गाउँपालिकामा ४२ र दमक नगरपालिकामा २७ गरेर १४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिसकिएको छ।
आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा आयोगले काम गरिरहेको छ। अधिकांश पालिकामा जग्गाको भोगचलन गर्दै आएकाले निस्सा पाइसकेका छन्।