गृहमन्त्री बनाईदिनु भन्दै बालुवाटार नआउन रवि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको सुझाव - Chaitanya News
  • 2026-05-14
  • 09:40:59
  • बिहिबार,बैशाख ३१, २०८३
  • गृहमन्त्री बनाईदिनु भन्दै बालुवाटार नआउन रवि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

    गृहमन्त्री बनाईदिनु भन्दै बालुवाटार नआउन रवि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि सांसद र मन्त्रीबाट मुक्त भएका लामिछाने पूनः गैरसांसदको रुपमा गृहमन्त्रालयको नेतृत्वमा फर्कनेगरि दौडधुपमा छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत पनि प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका छन्।

    तर, प्रधानमन्त्री दाहालले भने नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद कायमै रहेकोले अहिले गृहमन्त्रालय दिन नसकिने अडान लिएका छन्। उनले आफ्नै दलभित्रबाट गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग यसबारेमा परामर्श गरिसकेका छन्। उनले आजरभोलिभित्रै पार्टीबाट नै गृहमन्त्री नियुक्त गर्ने बताईएको छ। माओवादीनिकट उच्च स्रोतकाअनुसार दाहालले गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई अघि सार्न खोजेका छन्।

    श्रेष्ठ हाल उनी नेतृत्वको क्याविनेटमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री छन्। प्रधानमन्त्री दाहालले पुष ११ गते पद तथा गोपनियताको सपथ खाने दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए। सुरुमा गृहमन्त्रालय माओवादीको भागमा परेको भनिएको थियो। तर, सपथको ठिक एक घण्टा अघि रवि लामिछानेले गृह नपाए सरकारमा नजाने अडान लिएपछि दाहालले बाध्य भएर लामिछानेलाई सो मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए।

    श्रेष्ठ भने असन्तुष्टिका बावजुदपनि भौतिक पूर्वाधारमन्त्री बन्न बाध्य भएका थिए। उनी गृहमन्त्रालय नपाएको रिसले दुई दिन त भौतिक मन्त्रालय नै गएनन्। अहिले लामिछानेले स्वार्थ बाझिनेगरि गृहमन्त्रालयको नेतृत्व लिन खोजेपछि मिडियामा पनि उनको आलोचना सुरु भएको छ।

    दाहालले आफूले अदालतको पूर्ण सम्मान गर्ने र नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ र राहदानी विवाद हल नभएसम्म गृहमन्त्रायल नदिने अडान लिनुको पछाडि उनी सो मन्त्रालय आफ्नै दलमा राख्न चाहन्छन्। बालुवाटारले त लामिछानेलाई अब गृहमन्त्रालयको च्याप्टर क्लोज भएको भन्दै यही विषयमा कुरा गर्न नआउनसमेत भनेको स्रोतको दाबी छ।