काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो ।
विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था नभएको बताए ।
प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा उनले यसमा पूर्णपाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ? उनले भने ।
यस्तै, पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताए । उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउने आरोप लगाए ।
त्यस्तै ओलीले राजनीतिक चलखेल सुरु भए पनि सरकारै संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।ओलीले सरकार संकटमा परे असाधारण अस्थिरता सुरु हुने बताए ।
“मुख्य कुरा राज्यका एजेन्डा कार्यान्वयन गर्ने भन्ने कुरा हो । तपाईंहरूले भनेजस्तो मलाई यो सरकार संकटमा पर्छ जस्तो लाग्दैन,” उनले भने, “सरकार अस्थिर भयो भने यो प्रणालीमै अस्थिरता आउन सक्छ ।”
निर्वाचन प्रणालीमा कि शासन प्रणालीमा अस्थिरता भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले शासन प्रणालीमै अस्थिरता आउन सक्ने बताए ।