काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। अभिमुखीकरण कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको हो। यो अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयले आज (बिहीबार) र भोलि ९शुक्रबार० ४ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो। अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम छ।
संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ। नयाँ सांसदलाई संसदीय मूल्यमान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।