सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित ! - Chaitanya News
  • 2026-05-15
  • 03:05:23
  • बिहिबार,बैशाख ३१, २०८३
  • सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित !

    सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित !

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।

    नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्रीसहितका पद गुमाएका लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम रहेको प्रमाणपत्र लिएपछि उनलाई फेरि पुरानै मन्त्रालय दिएर सरकारमा फर्काउन सत्ता साझेदार दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री दाहालमाथि दबाब बढाइरहेका छन् ।

    संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन् । ओलीले बुधबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई पुरानै जिम्मेवारी दिएर सरकारमा ल्याउन दबाबमूलक आग्रह गरे ।

    राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पनि बुधबार प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई गृहमन्त्रीसहित फेरि सरकारमा ल्याउन आग्रह गरे । उनले ओलीभन्दा अगाडि दाहाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

    रास्वपाका नेताले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा सरकारमा सहभागी नगराए समर्थन फिर्ता लिने अवस्था आउन सक्ने बताउँदै आएका छन् ।