काठमाडौं– नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेको घटना राज्य सञ्चालनको प्रकृयामा रहेकाहरुको लागि चुनौती भएको बताएका छन्।
बुधवार प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद बस्नेतले संसद्ले यस घटनामा विशेष रुपले ध्यान दिन नसके स्थिति विकराल हुने बताए।
उनले भने, ‘यो राज्य सञ्चालनको प्रक्रियामा रहेकाहरुको लागि प्रेम आचर्यको घटना चुनौती हो। सरकारमा रहेका र सरकार बाहिर रहेका व्यक्तिले ध्यान दिएर यस्ता घटना नघटुन् भनेर लाग्नुपर्छ। यसपालिको संसद्ले विशेष रुपले ध्यान दिन सकेनौँ भने स्थिति विकराल हुन्छ।’
आत्मदाहको घटना सुन्नेबित्तिकै आफूले यसबारे आफ्ना नेतासँग सम्पर्क गरेको र स्नातक तहसम्म आचार्यका छोराछोरीलाई निःशुल्क पढाइदिने घोषणा गरेको जानकारी दिए।
अर्को प्रसंगमा सांसद बस्नेतले सत्ता पक्षका नेताहरुलाई पनि संसदभित्र फरक लहरमा राख्ने व्यवस्था गर्न आग्रह गरे। बुधवारको बैठकमा सत्ता पक्षकै सांसदहरुबिचमा भएको आरोपप्रत्यारोपप्रति व्यङ्ग्य गर्दै उनले सत्ता पक्षलाई पनि रो विभाजन गरेर नराखिए भविष्यमा ठूलो झगडा हुने आफूले देखेको बताए।