पृथ्वीचोकको ट्राफिक कार्यालयको भवनमा पोखरा महानगरले चलायो डोजर - Chaitanya News
  • 2026-05-14
  • 07:36:14
  • बिहिबार,बैशाख ३१, २०८३
  • पृथ्वीचोकको ट्राफिक कार्यालयको भवनमा पोखरा महानगरले चलायो डोजर

    पृथ्वीचोकको ट्राफिक कार्यालयको भवनमा पोखरा महानगरले चलायो डोजर

    पोखरा– पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको जीर्ण अवस्थाको ट्राफिक कार्यालयको भवन डोजर लगाएर भत्काउन थालेको छ।

    ट्राफिक प्रहरीको कार्यालय पोखरा(९ नयाँबजारमा नयाँ भवनमा सरेपछि खाली रहेको पृथ्वीचोकको पुरानो जीर्ण अवस्थाको ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको हो।

    जीर्ण अवस्थामा रहेको भवन भत्काएको ठाउँमा ‘पोखरा घर’ निर्माण सुरु गर्ने पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए।निर्माण गरिने ‘पोखरा घर’मा आर्ट ग्यालरी, पुस्तकालय र घण्टाघर बनाउने महानगरको योजना रहेको उनले बताए।

    पोखरा घरको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र माथिको छतमा घण्टाघर बनाइने छ।

    महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएपछि लामो समयसम्म पनि पोखरा घरको निर्माणमा ढिलाइ हुँदा पोखरेली कलाकर्मीले महानगरको आलोचना गर्दै आएका थिए।