लामिछानेले गृहमन्त्री नपाए सरकार छाड्ने धम्कीपछि पार्टीभित्र छलफल गर्दै प्रचण्ड - Chaitanya News
  • 2026-05-01
  • 08:02:02
  • शुक्रबार,बैशाख १८, २०८३
  • लामिछानेले गृहमन्त्री नपाए सरकार छाड्ने धम्कीपछि पार्टीभित्र छलफल गर्दै प्रचण्ड

    लामिछानेले गृहमन्त्री नपाए सरकार छाड्ने धम्कीपछि पार्टीभित्र छलफल गर्दै प्रचण्ड

    काठमाडौं– रवि लामिछानेले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल गरिरहेका छन्।

    रवि लामिछानेले पेश गरेको नागरिकतालाई अमान्य घोषणा गर्दै उनको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो।पद खारेजसँगै उनको गृहमन्त्री पद पनि खारेजीमा गएको थियो।

    तर आइतबार लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका थिए यसपछि उनले गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन प्रचण्डसमक्ष दबाब बढाएका छन्।

    यसैले उनको दबाबलाई स्वीकार गर्ने कि अस्वीकार गरेर जाने भन्ने विषयमा प्रचण्डले पदाधिकारी बैठकमा पनि संवाद गर्न खोजेका हुन्।

    यसका लागि स्थायी कमिटी बैठक रोकेर माओवादी मुख्यालयमा पदाधिकारीको बैठक बसेको हो। सरकारबाट बाहिरिने लामिछानेले चेतावनी दिएपछि के गर्ने भन्नेबारे प्रचण्डले छलफल गरिरहेको बुझिएको छ।

    उनले दबाब दिए पनि प्रचण्डले मंगलबार बिहान बालुवाटारमा गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए।

    लामिछानेसँगको भेटमा प्रचण्डले नागरिकतापछि सांसद पद खारेज भएको र पासपोर्टको विषय पनि रहेकोले प्रक्रियाबाट मात्रै मन्त्री बनाउन सकिने बताएको बालुवाटार स्रोतले जानकारी दियो।

    २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डसामु विकल्प बढेका छन्। यसैले रविले दबाब दिए पनि उनलाई गृहको जिम्मेवारी दिने मनस्थितिमा प्रचण्ड छैनन्।

    माओवादीको पदाधिकारी बैठकमा सदस्यहरूले सोमबार रविलाई कुनै हालतमा गृह मन्त्रालय नदिई आफैंसँग राख्नुपर्ने बताएका थिए।

    १० पुसमा प्रधानमन्त्री बन्नेबाहेक महत्वपूर्ण मन्त्रालय आफूसँग नराखेको भन्दै प्रचण्डसामू यसपटक गृह नछोड्न अत्यधिक दबाब छ।

    रवि पदमुक्त भएपछि गृह मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री प्रचण्ड नै छन्।