काठमाडौं- नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा पुगेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालको अवस्था केही सुधार भएता पनि अपेक्षीत सुधार हुन नसकेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) ले आज सार्वजनिक गरेको प्रतिवेदनमा कूल १०० अंकमा ३४ अंक प्राप्त गरेको छ। विश्वभरका १८० मुलुकमा नेपाल ११० मा पुगेको हो।
विश्वभर गरिएको अध्ययनमा नेपाल भ्रष्टाचार कम गर्न सकेको देखिँदैन। यो गत वर्षको तुलनामा १ अंक मात्रै बढी हो। भ्रष्टाचारको अवस्था हेर्दा नेपालमा स्थिर देखिएको छ।
भ्रष्टाचार अवधारणा सूचकाङ्क(Corruption Perceptions Index-2021) मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो। नेपालको अंकमा केहि सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ।
दक्षिण एशियामा भुटान कम भ्रष्टाचार गर्ने मुलुक ठहरिएको छ। दक्षिण एशियामा नेपाल पाँचौ स्थानमा छ। विश्वभर हेर्दा विगतका वर्षजस्तै डेनमार्क सदाचारी मुलुक ठहर भएको छ।
यस बर्ष सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन्।
यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ। यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ।
