काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो।
ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन्। उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्। महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए।
योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए।