गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको हो : उपाध्यक्ष महरा - Chaitanya News
  • 2026-05-11
  • 07:42:56
  • सोमबार,बैशाख २८, २०८३
  • गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको हो : उपाध्यक्ष महरा

    गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको हो : उपाध्यक्ष महरा

    काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन्।

    सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग नेता महराले यस्तो प्रतिक्रिया दिएका हुन्। पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे निर्णय गर्ने भएकाले उक्त विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकीरसमेत गरे।

    गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन। यो सरकारको विषय हो। गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो। यो पार्टीले टुंग्याउने कुरा होइन। स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला।’

    गत शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका छन्। तर पछिल्लो समय गृह मन्त्रालय प्रधानमन्त्री दाहालकै मातहतमा राखिएको छ।

    यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफै्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले यसअघि पत्रकारहरूसँग कुरा गर्दै गृह मन्त्रालय रास्वपाले पहिले नै पाइसकेकाले यसमा फेरि दाबी गरिरहन आवश्यक नरहेको बताएका थिए।