प्रचण्डले ओलीलाई धोका दिन लागेका हुँनत? बाँस्कोटाले गरे संकेत - Chaitanya News
  • 2026-05-01
  • 08:03:06
  • शुक्रबार,बैशाख १८, २०८३
  • प्रचण्डले ओलीलाई धोका दिन लागेका हुँनत? बाँस्कोटाले गरे संकेत

    प्रचण्डले ओलीलाई धोका दिन लागेका हुँनत? बाँस्कोटाले गरे संकेत

    काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिन थालेको चर्चा छ। राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने चर्चा भैरहेको बेलामा यस्तो संकेत मिलेको छ। २६ पुषमा संसद्मा विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको पनि मत पाएका थिए।

    कांग्रेसको पनि विश्वासको मत पाएपछि दाहालले राष्ट्रपतिमा समझदारी कायम गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिका कारण एमाले नेतृत्व बिच्किएको छ। १० पुषमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवासमा जानुअघि ओली निवासमा एमाले–माओवादीबीच पावर सेयरिङमा सहमति भएको थियो। जसअनुसार अढाई वर्ष सरकारको नेतृत्व दाहालले गर्ने त्यसपछि ओलीले सरकारको नेतृत्व गर्ने, सभामुखमा पनि दुई दलले आलोपाले गर्ने समझदारी बनेको थियो। सोही सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका छन्। उता, एमालेबाट सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्।

    अब राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति एमालेले पाउने सहमति भएको बताईएको छ। तर, कतिपय एमाले नेताहरुले पनि राष्ट्रपतिबारे ठोस वा लिखित सहमति नभएको टिप्पणी गरेका छन्। प्रचण्डले कांग्रेसलाई पनि स्विकार्य हुने पात्रलाई राष्ट्रपति बनाउने लविङ थालेका छन्। उनी आफ्ना पूर्व सहकर्मी बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्ने तयारीमा छन्। अहिले सत्ता गठबन्धनमा रवि लामिछानेको कारण खटपट सुरु भएको छ। नागरिकता विवादबारे सर्वोच्च अदालतको फैसलाका कारण रवि सांसद र मन्त्री पदबाट मुक्त भएका छन्।

    उनले हिजोमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूरानै नागरिकता पूनः प्राप्त गरेका छन्। उनी हिजै दलको सभापतिमा नियुक्त भएका छन्। अब उनी गृहमन्त्रालयको नेतृत्वमा फर्कने दाउमा छन्। यसको लागि एमाले अध्यक्ष ओलीले सहमति जनाएका छन्। हिजामात्रै ओली र लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रीमा लामिछानेलाई नै नियुक्त गर्न दबाब दिएका छन्। तर, दाहाल भने कुनैपनि हालतमा लामिछाने र उनीसम्वद्ध दल रास्वपालाई गृहमन्त्रालय नदिने अडानमा छन्। प्रचण्डले आफ्नै दलबाट शक्तिबहादुर बस्नेतलाई गृहमन्त्रालयको जिम्मेवारी दिन चाहेका छन्।

    उता, एमालेका नेता गोकुल बास्कोटाले माओवादीबाट आफूहरुलाई धोका हुनसक्ने संकेत गरेका छन्। उनले आज विराटनगरमा आयोजित एक कार्यक्रममा धोकाधडीको राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने टिप्पणी गरेका छन्। उनको यो टिप्पणी प्रधानमन्त्री दाहाललक्षित रहेको बुझिएको छ। उनले सम्बोधनको क्रममा भनेका छन्–‘सधैँ षड्यन्त्र र धोकाधडीको राजनीति गरेर हुँदैन, यसले नागरिकमा वितृष्णा उत्पन्न भई देश अकल्पनीय दुर्घटनामा पनि जान सक्छ।