काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन साह र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच सोमबार भेट भएको छ। भेटमा स्थानीय सरकार मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण लगायतको विषयमा छलफल भएको मेयरको सचिवालयले जानकारी दिएको छ।
गभर्नर अधिकारीसँगको भेटमा मेयर साहले महानगर आफैंले सहकारीको नियमन गर्नका लागि आफ्नै विभाग र नियमन समिति भएकोले यसलाई थप प्रभावकारी बनाउने विषयबारे जानकारी गराएको सचिवालयले जनाएको छ। पछिल्लो समयमा सहकारीहरुमा देखिएका समस्यामा स्थानीय तहले खेल्नसक्ने भूमिकाको विषय पनि छलफल भएको सचिवालयको भनाइ छ।
सहकारी तथा वित्तीय संस्थाको दूरगामी नीतिरकार्यविधि तर्जुमा गर्ने विषयमा पनि मेयर साह र गभर्नर अधिकारीबीच छलफल भएको महानगरले जनाएको छ।
वित्तीय समस्या र नीति सम्बन्धी विषयमा आवश्यक समन्वय, सहकार्य र छलफललाई थप बाक्लो बनाउने विषयमा मेयर साहले जोड दिएका थिए।