मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवको सरुवा गर्ने तयारीमा सरकार - Chaitanya News
  • 2026-05-11
  • 07:42:26
  • सोमबार,बैशाख २८, २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवको सरुवा गर्ने तयारीमा सरकार

    मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवको सरुवा गर्ने तयारीमा सरकार

    काठमाडौं- मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।

    बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आजको बैठकमा केही उच्च पदस्थ कर्मचारी सरुवा निर्णयसमेत हुने जनाइको छ। सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको स्रोतको भनाइ छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव अर्जुन प्रसाद पोखरेलले आइतबार बिहान प्रस्तावसहितको सूची मुख्यसचिव शंकरदास बैरागीलाई बुझाएकोमा आजको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा निर्णय गर्ने बताइएको छ।

    अर्थ र गृहतर्फका सहसचिवको ठूलो हेरफेर हुने बताइएको छ। अर्थ मन्त्रालयबाट सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुबेदी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेशकुमार केसी, ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीको सरुवा हुने स्रोतले बताएको छ। उनीहरूको ठाउँमा सहसचिव धनी राम शर्मा, झक्क आचार्य, रमेश अर्याल, राम प्रसाद आचार्य, श्रीकृष्ण नेपाल र सेवन्तक पोखरेललाई ल्याउने तयारी सरकारको छ।

    यसैगरी गृह मन्त्रालय यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, वातावरण विभागका महानिर्देशक नमराज घिमिरे, लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमल धमला, केदारनाथ शर्मा, कर्णाली प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर भुसाललाई ल्याइने बताइएको छ। बाहिरिनेहरूको भने अझैँ निर्क्यौंल हुन बाँकी छ। यसैगरी अन्य सहसचिवको पनि सरुवा हुने स्रोतले जनाएको छ।