काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका कर्मचारीलाई तालिम दिएको छ। बैंकले नवनियुक्त १ सय ७९ जना कर्मचारीलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको छ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न युवा जनशक्ति सक्षम हुने बताए। उनले विभिन्न प्रक्रिया पश्चात् बैंकले एकपटक ठूलो सङ्ख्यामा युवा कर्मचारीलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने सुझाव दिए।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए।
कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १ सय ७९ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए।