काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनीको विकास गर्ने नाममा विकृति बढेको बताएका छन्। आफू अहिलेसम्म लुम्बिनी नपुगेको तर लुम्बिनी फोहोर छ भनेर चीनको सांघाईमा सुनेको उनले बताए। आइतबार मन्त्रालयमा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारीहरूसँगको ब्रिफिङमा मन्त्रीले कार्ययोजना बनाएर काम गर्न निर्देशनसमेत दिएका छन्।
‘म अहिलेसम्म लुम्बिनी पुगेको छैन। तर, चीनको सांघाईमा एउटा मिटिङमा लुम्बिनी धेरै फोहोर भएको गुनासो आएको थियो। पहिले सुन्ने ठाउँमामात्रै थिए। अब काम गर्ने ठाउँमा नै छु। बुद्ध जन्मेको पवित्र थलोमा फोहोर भयो भनेर चीनले भन्नुपर्ने अवस्था किन?’, पदाधिकारीलाई प्रश्न गर्दै मन्त्री किराँतीले भने, ‘तपाईँहरूले दिएको रिपोर्टमा म सन्तोष छैन। लुम्बिनी गौचरनजस्तो छ रे। राज्यले पत्याएर पदाधिकारी पठाएको हो। अब मलाई क्यालेन्डर अनुसार काम चाहियो। अब विकासको नाममा लापरबाही गर्न मिल्दैन। काममा केही तलमाथि भयो भने आफै फाइल बनाएर सम्बन्धित ठाउँमा जानेछु।’
लुम्बिनीको विकास गर्ने नाममा मागिखाने भाँडो बनाउन नमिल्ने उनको भनाइ थियो।
पर्यटन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले कोषमा रहेकाहरूमा नै केही नमिलेजस्तो देखिएको बताइन्।
उनले भनिन्, ‘कोषका पदाधिकारीहरूले देखाएको फोटो हेर्दा आनन्द आइयो । तर, काम भएन । लुम्बिनी भनेको विश्वले नै हेर्ने ठाउँ हो। यहाँ काम गर्नुको विकाल्प नै छैन।’
पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिवलगायतका पदाधिकारीले भएका कामको जानकारी गराएका थिए।