रवि लामिछानेले दोस्रो पटक लिए नेपाली नागरिकता - Chaitanya News
  • 2026-09-06
  • 18:06:27
  • आइतबार,भाद्र २१, २०८३
  • रवि लामिछानेले दोस्रो पटक लिए नेपाली नागरिकता

    रवि लामिछानेले दोस्रो पटक लिए नेपाली नागरिकता

    काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ।

    आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताका लागि निवेदन दिएपछि प्रक्रिया पुर्‍याएर वितरण गरिएको बताएका हुन्।

    लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए। गत शुक्रबार सर्वोच्चको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। सोहीअनुसार लामिछानेले प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन्।

    लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

    लामिछाने २०५० मा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका थिए। तर २०७५ मा नेपाल फर्किएका रविले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेस गरेका थिएनन्। २०५० मा लिएर बीचमा त्यागिसकेको नागरिकता पेस गरेर उनले नेपाली राहदानी निकालेका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेस गरेका थिए।

    रविले गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिँदा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेस गरेका थिए।

    चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिकमा रुपमा सक्रिय हुन सक्नेछन्।