काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुुझाव दिएका छन् ।
राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने उनले टिप्पणी गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘दायाँबायाँ नसोची, नहेरी । निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ।
राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ । राजनीतिक दलहरु आफू अनुकूलको राष्ट्रपति बनाउनेगरी लागि परेका छन् । सत्ता गठबन्धनले भागबण्डा गर्दा एमालेले राष्ट्रपति लिने समझदारी भएको जनाइएको छ । यद्यपि राष्ट्रियय सहमति गर्नपर्ने भन्दै माओवादीबाट आवाज उठ्न थालेपछि विवाद बढ्ने संकेत देखिएको छ ।