काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ।
सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।
उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन। गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट लामिछाने विजयी भएका थिए।
उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए। चितवन २ मा हुने उपचुनावको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरु हुन थालेको छ। कतिपयले रवि लामिछाने फेरि उपचुनावबाट निर्वाचित भएर आउने आकलन गरेका छन्।
सत्तारुढ दलभित्र मिलेर उम्मेदवारी दिने कि मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ। लामिछानेले चुनावका समयमा प्रयोग गरेको नागरिकतालाई सर्वोच्चले मान्यता नदिएपछि उहाँको सांसद पद गुमेको हो।
सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्रीबाट राजीनामा पनि दिइसकेका छन्।